काठमाडौं, १६ मंसिर । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि मंसिर २५ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ । बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीलाई लक्षित गरी यो आईपीओ ल्याउन लागिएको हो ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सो मध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेकोछ ।
यस आईपिएओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म थपिने बैंकले जनाएको छ । इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
