काठमाडौं, १६ मंसिर । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ४४ दशमलव ७० को बिन्दुमा बन्द भएको छ । सोमबार परिसूचक ४ दशमलव २८ अङ्कले घटेर २६४५ को बिन्दुमा कायम भएको थियो ।
आज कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार ९ पटक किनबेच भएको छ ।
मंगलबार ३२४ धितोपत्र कारोबारमा आए, जसमध्ये ११९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १२५ धितोपत्रको मूल्य बढेको छ भने १३ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक बढ्दा ३ समूहको उपसूचक घटेको छ । यस दिन होटल एण्ड टुरिजम समूहको उपसूचक सबैभन्दा धेरै ०.६२ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको ०.५८, जीवन बीमाको ०.५७, माइक्रोफाइनान्सको ०.०६ र लगानी समूहको उपसूचक ०.०४ प्रतिशतले घटेको छ ।
व्यापार समूहको उपसूचक ०.७५, हाइड्रोको ०.७०, उत्पादनमुलक समूहको ०.५१ र फाइनान्सको ०.२७ प्रतिशतले बढेको छ ।
मंगलबार बजार घटे पनि ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेक कम्पनी रहेका छन् । त्यस्तै रसुवागढी हाइड्रोपावरको ८.६१, विकास हाइड्रोपावरको ६.४८, दरामखोला हाइड्रोपावरको ६.२७ र पिपुल्स हाइड्रोपावरको ६.१८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ग्रिन भेन्चर्सको शेयर मूल्य सबैभन्दा धेरै ९.८५ प्रतिशतले घटेको छ । स्टान्डर्ड चार्टर्ड बैंकको ३.८८, पोखरा फाइनान्सको २.५० र माई खोला हाइड्रोको २.१८ प्रतिशतले शेयर मूल्य घटेको छ ।
