विराटनगर- राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरमा शनिबार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै उनले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी-व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए।
कोभिड-१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘अपेक्षा अनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सिर्जना लगायत आन्तरिक उत्पादन बढ्न सकेको छैन भने राजस्वका लक्ष्य प्राप्त गर्न कठिनाइ भएको छ। उद्योग धन्धा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। उद्योग कलकारखाना सञ्चालनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’
अर्थतन्त्र सुधारका लागि सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धि दरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको बताउँदै उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको उल्लेख गरे।