सुनिता सुबेदी
काठमाडौं, १७ माघ । सरकारको बजेट खर्चमा देखिने गरेको समस्या यस वर्ष पनि कायमै छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को माघ १५ सम्ममा कुल ६ खर्ब २० अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आवको माघ १५ को तुलनामा शून्य दशमलव ५३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सरकारले कुल ६ अर्ब १७ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ खर्च गरेको थियो ।
साढे ६ महिना बितिसक्दा पनि सरकारको कुल विनियोजित बजेट खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ४४ प्रतिशतमा सीमित छ । सरकारले यो वर्षका लागि कुल १७ अर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट ल्याएको थियो । यस्तै चालू आवको माघ १५ सम्ममा सरकारकोे पुँजीगत खर्च वार्षिक लक्ष्यको १८ दशमलव ८४ प्रतिशतमा सीमित छ । सरकारले यो वर्ष पुँजीगत खर्चतर्फ कुल ३ अर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर साढे ६ महिनामा पुँजीगत खर्च ५६ अर्ब ८९ करोड ८६ लाख रुपैयाँ मात्र छ ।
सोही अवधिमा सरकारले चालू खर्चतर्फ कुल ४ अर्ब ७३ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ, जुन सरकारको वार्षिक लक्ष्यको ४१ दशमलव ४८ प्रतिशत मात्र हो । चालू आवका लागि सरकारले चालु खर्चतर्फ कुल ११ अर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरको थियो ।
साथै माघ १५ सम्ममा सरकारले वित्तीय व्यवस्थापनतर्फ कुल ९० अर्ब २२ करोड ६२ लाख रुपैयाँ खर्च गरेको छ । यो वर्षको वित्तीय व्यवस्थापनतर्फको कुल विनियोजनको सरकारको वार्षिक लक्ष्यको २९ दशमलव ३५ प्रतिशत मात्र खर्च हो । सरकारले वित्तीय व्यवस्थापनतर्फ कुल बजेट ३ अर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ छुट्याएको थियो ।
यसैगरी सरकारको आम्दानी पनि खर्चभन्दा कम छ । साढे ६ महिना बितिसक्दा पनि सरकारले लिएको वार्षिक लक्ष्यअनुसार राजस्व आधा पनि उठ्न सकेको छैन । माघ १५ सम्ममा ५ अर्ब २० अर्ब ७८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन राजस्वको वार्षिक लक्ष्यको ३६ दशमलव ६१ प्रतिशत मात्र हो । चालू आवका लागि १४ अर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ ।