सुनिता सुबेदी
काठमाडौं, २३ माघ । चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को मंसिर महिनासम्ममा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५८ लाख नाघेको छ । आन्तरिक राजस्व विभागका अनुसार स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको सङ्ख्या ५८ लाख ५४ हजार १ सय २८ पुगेको छ, जुन गत आवको मंसिर महिनाको तुलनामा १४ प्रतिशतले वृद्धि हो । गत आवको सोही अवधिमा प्यान लिने करदाता ५१ लाख ३५ हजार ५ सय ९० थिए ।
यस्तै चालू आवको पाँच महिनामा प्यान लिने करदाता ३ लाख ४ हजार भन्दा धेरै थपिएका छन् । गत आवको अन्तिमसम्ममा ५५ लाख ५४ लाख २६ करदाता थिए ।
चालु आवको ५ महिनासम्ममा प्यान लिने करदातामध्ये सबैभन्दा बढी व्यक्तिगततर्फ छन् । सो अवधिमा व्यक्तिगत प्यान लिने करदाता ३८ लाख ९६ हजार ६ सय ९९ रहेका छन्, जुन प्यान लिने कुल करदाताको ६६ दशमलव ६ प्रतिशत हो । त्यस्तै एक वर्षमा व्यक्तिगत प्यान लिनेको सङ्ख्यामा १८ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । गत आवको मंसिरसम्ममा व्यक्तिगत प्यान लिनेको सङ्ख्या ३२ लाख ८५ हजार ६ सय ४९ थियो ।
दोस्रोमा कुल करदाताको ३२ दशमलव ९ प्रतिशतले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । विभागका अनुसार चालु आवको पाँच महिनामा व्यावसायिकतर्फ प्यान नम्बर लिने करदाता १९ लाख २६ हजार ७ सय ७१ रहेका छन्, जुन गत आवको मंसिरको तुलनामा ५ दशमलव ४५ प्रतिशतले बढी हो । गत आवको मंसिरसम्ममा व्यावसायिक प्यान लिने करदाता १८ लाख २७ हजार १ सय ३९ थिए ।
यस्तै करकट्टी गर्ने निकायबाट लिने करदाताको सङ्ख्या ३० हजार ६ सय ५८ रहेको छ, जुन कुल करदाताको सङ्ख्याको ० दशमलव ५ प्रतिशत हो ।