काठमाडौँ, २४ माघ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने गरी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय विस्तार गर्न सरकारले सहुलियत कर्जा दिने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको स्टार्ट–अप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत भई सहुलियत कर्जाको लागि प्रस्ताव आह्वान समेत भइसकेको छ ।
समझदारी पत्रमा कृषि तथा पशुपंछीसँग सम्बन्धित, बन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन,खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान, फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद व्यवस्थापन र विकास, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा कर्जा दिने समझदारी पत्रमा उल्लेख छ ।
प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणका लागि हाल २४ करोड २५ लाख रकम रूपैयाँ उपलब्ध गराउने छ । कर्जाको सेवा शुल्क तथा ब्याजदर कार्यविधि अनुसार हुनेछ ।