काठमाडौँ, २८ माघ । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको आरोप लगाएकी छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पौड्यालले सरकारले खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्ने भाषण गरेर व्यवहारमा भने पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारेको भन्दै आपत्ति जनाएकी हुन् । विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई ¥याङकिङमा पछाडि धकेल्नेहरुलाई सर्टलिष्ट गरिनुले फेरि उनीहरु नेतृत्वमा आउन हाबी भएका त होइनन् भन्ने आशंका पैदा भएको पौड्यालले बताइन् ।
त्यसबाट सरकारले भनेजस्तो खुला प्रतिष्पर्धा नभई फेरि राजनीतिक हस्तक्षेपबाट नेतृत्व चयन गर्न लागेको पुष्टि हुने उनको आरोप थियो । ‘शिक्षामन्त्रीज्युको नेतृत्वमा एउटा समिति गठन भएको छ । मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ,’ उनले भनिन्, ’पहिलो कुरा त मलाई के लाग्छ भने राम्रा मान्छेहरु आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । यसपटक पनि आवेदन गरेनन् । राम्रो मान्छेहरु नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरु चाँहि नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । राम्रा मान्छेहरुले आवेदन नै दिएनन् । अहिले सर्टलिष्टमा त झन् पहिल्यै असफल भइसकेका टेष्टेड र फेलहरुलाई समेटिएको छ ।’
पैड्यालले विश्वविद्यालयलाई ¥याङकिङमा पछाडि धकेल्न विगतमै योगदान गरेकाहरुलाई फेरि नेतृत्वमा ल्याउन प्रयास भइरहेको प्रति आपत्ति जनाइन् ।