सुनिता सुबेदी
काठ्मान्डौं, २९ माघ । १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या ३१ लाखभन्दा बढीले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को मंसिरसम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३२ लाख १६ हजार ३ सय ८३ पुगेको छ । यो सङ्ख्या गत आवको मंसिरसम्मको तुलनामा ११ दशमलव ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ करोड ५३ हजार ४ सय २० मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
चालू आवको अर्धवार्षिक अवधिसम्ममा १८ लाख २५ हजार ९२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको पुसको तुलनामा ३ दशमलव १७ प्रतिशतले वृद्धि हो । गत आवको सोही अवधिमा १७ लाख ६८ हजार ९ सय ३२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो ।
यस्तै पुससम्ममा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड २७ लाख ४७ हजार ६० रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । साथै क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकताको सङ्ख्या ३ लाख ५ हजार ६ सय ५८ रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको मंसिरसम्ममा ५४ वटा बैंकको सस्था छ , जसमध्ये ६ हजार ४ सय ४१ वटा शाखाहरु छन् । ५ करोड ३५ लाख ५० हजार ३ सय ६ वटा नेपालीहरुको बैंक खाता रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।