काठमाडौं, २९ माघ । सोनापुर मिनरल्स् एन्ड आयल लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार दाङको घोराहीमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०७९÷८० को नाफा, नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पारित गरेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ । साधारण्सभाले सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ सञ्चालक अंकित खड्का र रचनाकुमारी ओझालाई निर्विरोध निर्वाचित गरेको छ ।
यस्तै कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपैयाँ नोक्सानी छ । गत वर्ष भने कम्पनीले २ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । पुससम्ममा कम्पनी १ करोड १४ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष यसले २५ करोड ७३ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।