काठमाडौं, ०१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष लघुवित्तसम्बन्धी प्रतिवेदन बुभाएको छ । विभागले तयार पारेको प्रतिवेदन मंगलबार बिहान बालुवाटार पुगेर सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्लेसहितको टोलीले प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाएको लघुवित्तीय संस्थाको संकट र समाधानका उपाय समेटिएको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले यसको समाधानका लागि आफू सक्रिय रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्तीय समस्याको समाधानका लागि सबैभन्दा बढी आफू गम्भीर र सक्रिय रहेको बताएका हुन । उनले भने,’यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु ।’
रास्वपाको अर्थ तथा नीति विभागले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसम्बन्धी अध्ययन र प्रतिवेदन तयार पार्ने जिम्मा पाएको थियो ।
विभागले माघ १५ गतेभित्र प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने जिम्मा पाएको थियो । विभागमा सुरेशकुमार कर्ण, सुशील खड्का, भोजन अर्याल, सिर्जना केसी सदस्य छन् ।