काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत हुने बताएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आईएमएफ मिसन चिफ टिडिएन किन्डाले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव १ प्रतिशत हुने बताएको हो ।
आर्थिक वृद्धि बढाउन सरकारले पुँजीगत खर्चको गुणस्तरमा सुधार गर्दै पुँजीगत खर्च बढाउनु पर्ने किन्डाको भनाइ छ । ’किन्डाले भने, सरकारले राजस्व बढाएर र सस्तो ब्याजदरमा सहुलियतपूर्ण कर्जा लिएर पुँजीगत खर्च बढाउनु पर्छ । पुँजीगत खर्च बढाउने लामो प्रकृया हुन्छ । त्यसमा अहिलेको सरकारले सकारात्मक प्रयास गरिरहेको छ ।’
यस्तै उनले सरकारले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई संरचनात्मक सुधारको रुपमा अवसरका रुपमा प्रयोग गर्दै आर्थिक वृद्धिको बाटो खोल्नु पर्ने बताए । पर्यटन क्षेत्रमा भएको सुधार, रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि र लचिलो मौद्रिक नीति बनाउँदा समेत बैंक वित्तीय संस्थाको कर्जा लगानी बढ्न नसकेको उनको भनाई थियो ।
कोषले सरकारले कर प्रणालीमा सुधार गरेर राजस्व बढाउनु पर्ने र राष्ट्र बैंकले तथ्यांकमा आधारित मौद्रिक नीति बनाउनु पर्नेमा जोड दिएको छ । सरकारीलाई नियमनको दायरामा ल्याउन सुझाव दिएको छ ।
उनले अहिलेको भ्रमणमा कोषले नेपालको माइक्रोइकोनमिको विषयमा छलफल गरेको र इसिएफका सर्तहरुको प्रगति विश्लेषण गरेको बताए । भम्रण टोलिमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागको उपप्रमुख एनी–मेरी गुल्डे वुल्फ पनि छिन् ।
कोषको वासिङ्टनस्थित कार्यालयबाट नेपालसहित दक्षिण एसियाली देशमा हुने काम–कारबाही सूक्ष्म रुपमा हेर्ने वुल्फ नेपाल सरकारले कोषसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा आर्थिक तथा वित्तिय क्षेत्रमा सुधार गर्ने गरी जनाएका प्रतिवद्धताको अवस्थाका विषयमा जानकारी लिन नेपाल भ्रमणमा आएकी हुन् ।
ईसीएफको चौथो किस्ता निकासा गर्नु अघि कोषका तर्फबाट आगामी मे मा हुने विस्तृत मूल्यांकन पूर्व कोषको उच्चस्तरीय भ्रमण भएको हो ।