काठमाडौं, ०२ फागुन । नयाँ सरकार निर्माणका लागि पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन बनाइएको छ । कुनै पनि दलले बहुमत नल्याएपछि नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पीएमएलले गठबन्धन सरकार गठनको प्रक्रिया सुरु गरेको हो ।
नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।
पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ ।
पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ ।
शहबाज शरीफ नाताको हिसाबले नवाज शरीफका कान्छो भाइ हुन् । उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरीफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो
शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।