काठमाडौं, ०२ फागुन । अभिनेत्री स्वस्तिमा खड्काले हिरोइनको करिअर हिरुोको भन्दा छोटो हुने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वस्तिमाले हिरोइनहरुको करिअर छोटो हुनुमा धेरै कुराले असर पार्ने बताएकी हुन् । उनले भनिन, ‘हाम्रो समाजको जुन ‘इको सिस्टम’ छ, त्यसले ठूलो असर गरेको छ । महिला भन्ने वितिक्कै जिम्मेवारी बढी हुन्छ । विवाहपछि महिलाको जीवनमा ठूलो परिवर्तन आउने हो । बच्चा भएपछि झनै सम्झौता गर्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि करिअर छोटो हुन्छ ।’
हिरोइनलाई हिरोको वरिपरि नाच्ने वा ग्ल्यामरको हिसाबले मात्र सोच्ने मान्यताले पनि करिअर छोटो हुने गरेको उनको बुझाई छ । उनले भनिन, ‘अभिनेत्रीहरु भनेका हिरोको वरिपरि नाच्ने वा ग्ल्यामरका लागि मात्र हुन् भन्ने हिसाबले हेरियो भने एउटा उमेरसम्म मात्र करिअर रहन्छ । तर, अहिले यस्ता मान्यताहरु तोडिँदै गएको छ । हामीले गर्ने क्यारेक्टरहरुमा पनि परिवर्तन आइरहेको छ ।’
स्वस्तिमाले आफ्नो करिअर कसरी लम्ब्याउने भन्ने कुरा आफूमा निहीत रहने पनि धारणा राखेकी छन् । ‘मैले ‘दिमाग खराब’मा जुन क्यारेक्टर निभाएको छु, अबको १० वर्षपछि पनि त्यो क्यारेक्टर गर्न सक्छु भने मैले आफ्नो करिअर लामो बनाइसकेँ’, उनी थप्छिन्, ‘म ग्ल्यामर देखिनुपर्छ भनेर सोच्न थालेँ भने २० वर्षपछि म त्यो क्यारेक्टर गर्न सक्दिनँ । त्यसैले करिअर आफैंले लामो बनाउने हो ।’