काठमाडौं, ०२ फागुन । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा त्रुटि गरेको भन्दै मुक्तिनाथसहित विकास बैंक र फाइनान्स कम्पनीलाई सुपरिवेक्षकीय कारबाही गरेको हो ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षणद्वारा सार्वजनिक चालू वर्षको पुस मसान्तसम्म कारबाहीमा परेका विकास बैंकमा मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । त्यस्तै प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स रहेका छन्।यीमध्ये सप्तकोसी र नारायणी डेभलपमेन्ट बैंक दुई÷दुई पटक कारबाहीमा परेका हुन् ।
कानुन विपरीत ग्राहक संरक्षण कोषको प्रयोगबाट वित्तीय संस्थाका निक्षेपकर्ता र सर्वसाधारणको हित विपरीत कार्य भएको पाइएकाले सोसम्बन्धी निर्णय प्रक्रियामा संलग्न संस्थाको सञ्चालक समिति, सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ ।
यस्तै चालू वर्षको दोस्रो त्रैमासमा राष्ट्र बैंकको कारबाहीमा प्रोगेसिभ फाइनान्स, गुडविल फाइनान्सले परियोजनाको पर्याप्त विश्लेषण तथा कर्जा रकमको सदुपयोग सुनिश्चित नगरी महर्जन बिजनेस एसोसियट्स प्रालिलाई कर्जा प्रवाह गरेको पाइएकाले त्यस्तो कर्जा लगानी निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिइएको छ ।
साथै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स तोकिएको सीमाभन्दा बढी आफ्नो लगानीमा रहेको सेयर बिक्री गर्दा राष्ट्र बैंकको कारबाहीमा परेको छ ।