काठमाण्डौ, ०३ फागुन । कमजोर घरेलु उपभोगका कारण अर्थतन्त्र अप्रत्याशित रूपमा संकुचित हुँदा जापान आर्थिक मन्दीतर्फ धकेलिएको छ ।
जापानको क्याबिनेट कार्यालयको तथ्याङ्क अनुसार सन् २०२३ को अन्तिम तीन महिनामा कुल गार्हस्थ्य उत्पादन ०.४ प्रतिशत को वार्षिक गतिमा संकुचित भएकोे थियो । कार्यालयका अनुसार अघिल्लो त्रैमासमा पनि जापानको कुल ग्राहस्थ उत्पादनमा कमी आएको थियो । यदि लगातार दुई त्रैमाससम्म कुनै देशको अर्थतन्त्रमा संकुचन आउँछ भने त्यसलाई मन्दीको रूपमा परिभाषित गरिन्छ ।
अर्थतन्त्रको आधा हिस्साको रुपमा रहेको जापानको निजी उपभोग ० दशमलव २ प्रतिशतले घटेको छ । जापानी उपभोक्ताहरूले खाना, इन्धन र अन्य सामानहरूको लागि उच्च मूल्यको सामना गरिरहेकोले उपभोग खर्च पनि घटेको छ ।
जापानले आफ्नो आधारभूत ऊर्जा आवश्यकताको ९४ प्रतिशत र खाद्यान्न आवश्यकताको ६३ प्रतिशत आयात गर्ने गर्छ । येनको मूल्य कमजोर बन्दा जापानमा जीवनयापन महंगो भएको छ ।