काठमाडौं,०३ फागुन । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका सिनियर डेपुटी सिईओ कुमार बहादुर खत्रीले पदबाट राजिनामा दिएका छन् । अजोड इन्स्योरेन्सको स्थापना कालदेखि नै राम्रो कार्यक्षमता प्रस्तुत गरेर सफलताको चर्चा कमाएका खत्रीले राजीनामा दिएका हुन् ।
युनाईटेड अजोड इन्स्योरेन्स मर्जरमा आउँनु अघि उनले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा झन्डै दुई कार्यकाल नेत्तृत्व गरेका थिए । तत्कालिन अवस्थामा प्रभु इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सले मर्जरमा जाने तयारी गर्दा खत्री व्याक भएका थिए । अन्तत युनाईटेड र अजोड इन्स्योेरेन्स एक आपसमा मर्जरमा जाँदा उनले सीईओ पद भने हात पार्न सकेका थिएनन् ।
नेपाल बीमा प्राधिकरणले मर्जर सम्बन्धि विशेष निर्देशन दिँदै मर्जर अघि सीईओ भइसकेका कुनै पनि सीईओको खाईपाई आएको सुविधा नघट्ने व्यवस्था गरेको छ । त्यस्तै, मर्जरपछि नयाँ सीईओ आएमा तत्कालिन सीईओलाई बरिष्ठ डेपुटी सीईओ तोक्ने प्रावधान लागू गरिएको छ । सोही व्यवस्था अनुसार बरिष्ठ डेपुटी सीईओको रुपमा कार्यरत खत्री बाहिरीने मनसायमा पुगेका हुन् । खत्रीले राजिनामा दिए पनि संचालक समितिले भने स्वीकृत गर्न बाँकी रहेको युनाईटेड अजोड इन्स्योरेन्सले बताएको छ ।