काठमाडौं,०३ पागुन । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) खुलाउने घोषणा गरेको छ ।
गत २४ माघमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत सहभागी प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पिआरओआर) जलविद्युत् आयोजनासँग पिपिए गर्ने निर्णय गरेको हो ।
१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘गिभ एन्ट टेक’ प्रावधानका आधारमा खरिद गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पिपिए गर्ने आयोजनाको विद्युत् सुक्खायाममा (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० प्रतियुनिटमा खरिद हुनेछ ।
पिपिएका लागि ३ सय ५१ मेगावाट क्षमताका १० मेगावाटसम्मका ८९ आयोजनाले प्राधिकरणमा निवेदन दिएका छन् ।