काठमाडौं, ०४ फागुन । विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहिबार उक्त जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ भने राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको छ ।
यस्तै अदालतले प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ ।
प्रतिवादीहरु सुनिति राणा, सैलजा राणा, हेमन शम्शेर, हाटक शम्शेर, रक्म शमशेरका साथै कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्त प्रसाद श्रेष्ठ, मुकुन्द प्रसाद आचार्य, जगत प्रसाद पुडासैनीसहित १२ जनाविरुद्ध फैसला भएको हो ।
विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मुकुन्द प्रसाद आचार्यले सफाइ पाउने फैसला गरेको छ ।
यस्तै मोहीहरु बिलबहादुर महर्जनसहित ५७ जना र बकपत्रमार्फत हक प्राप्त गरेका इन्द्रबहादुर थापासमेत १५ जनाविरुद्ध २ वर्ष कैद र आरोपपत्रमा उल्लेख भएबमोजिमको जरिवाना सजाय ठहर भएको छ ।
मोहिका हैसियतमा जग्गा प्राप्त गरेका जग्गासमेत र सोही जग्गा खरिद गरी राजीनामा वा बकसपत्र मार्फत हक प्राप्त गरेका कल्पना तुलाधरसमेत ६५ जनाको थप जग्गा समेत जफत हुने ठहर भएको छ । अदालतको आदेशअनुसार हडपिएका जग्गाहरु नेपाल सरकारका नाममा कायम हुने भएको हो ।
सुनिति राणाको नाममा छुट जग्गा दर्ता सम्बन्धमा ६ जनाविरुद्ध ७ लाख जनही जरिवाना र ६ महिना कैद ठहर भएको छ । विशिष्ट व्यक्तिहरुको सम्बन्धमा तत्कालीन सचिव दीप बस्नेत तलगायत दोषी ठहर भएका छन् । प्रतिवादीहरुलाई दामासाहीले हुन आउने ९ करोड ६५ लाख ७६ हजार बराबरको हुन आउने बिगो जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैदको फैसला भएको छ । यस्तै मीन बहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई पनि २ वर्ष कैद र जरिवानाको सजाय फैसला भएको छ ।
यस्तै पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ र विजयकुमार गच्छदारले सफाइ पाएका छन् भने चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन् ।