काठमाडौँ, ०४ फागुन । संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरु (एसडीजी) प्राप्त गर्न नसकिने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनले सन् २०३० मा पूरा गर्ने भनेका एसडीजीका लक्ष्य सन् २०१६ बाट अघि बढाइएपनि अहिलेकै लयमा काम भए सन् २०६२ सम्म पनि सम्भव नहुने चेतावनी दिएको हो ।
राष्ट्र संघले बिहीबार सार्वजनिक गरेको १७ वटा दिगो विकासका लक्ष्यहरू (एसडीसी) मा एसिया र प्रशान्त क्षेत्रका ५ उपक्षेत्रहरूमा असमान र अपर्याप्त प्रगति भइरहेको प्रतिवेदनमा अहिलेकै गतिमा काम गरे लक्ष्य राखेकोभन्दा ३२ वर्षपछि मात्र लक्ष्य पूरा हुने उल्लेख छ ।
यूएनको एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक र सामाजिक आयोग (इस्क्याप) द्वारा बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा ती क्षेत्रहरुमा गरिबी र असमानताको स्तर निर्धारण गर्न लिंग र स्थान प्रमुख कारण रहेको उल्लेख छ ।
यस्तै यूएनका उपमहासचिव तथा इस्क्यापका कार्यकारी सचिव अर्मिडा साल्सियाह अलिसजाहबानाले समान रुपमा विशेष परिस्थितिमा मुलुकहरु बीचमा दिगो विकासको प्रगतिमा भिन्नता भएको बताएकी छन् ।
प्रतिवेदनमा एसिया–प्रशान्त क्षेत्रमा हालको प्रगतिमा नेपालले दिगो शहरी विस्तार र स्थानीय डेटा उत्पादनजस्ता क्षेत्रमा केही प्रगति भएको उल्लेख गरेको छ । केही क्षेत्रहरू विशेष गरी खाद्य सुरक्षा हासिल गर्न र कुपोषण विरुद्ध लड्न (लक्ष्य २) र देशभित्र र बाहिर असमानता घटाउने (लक्ष्य १०) मा नेपालले सुस्त प्रगति र प्रतिगमनको अनुभव गरिरहेको प्रतिवेदनले बताएको छ ।