काठमाडौं, ०४ फागुन । नेपाल एयरलाइन्सले आगामि फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।
नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख छिरिङ लामाले नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने बताएका छन् ।
उनले भने, ‘नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज–सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट–सुर्खेत परीक्षण उडान हुनेछ । त्यसपछि सुर्खेत–सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ । यद्यपि, अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।
सिमकोटबाट नेपालगन्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगन्जबाट सुर्खेत पुग्न चार घन्टा लाग्छ । अब सीधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट मै पुग्न सकिन्छ ।