काठमाडौं, ०६ फागुन । सरकारले माघ महिनामा शेयर बजारबाट ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड कम्पनीको तथ्यांकअनुसार चालू आर्थिक वर्षका महिनामा माघमा उठेको पूँजीगत लाभकर सबैभन्दा बढी हो ।
शेयर लगानीकर्ताका लागि सरकारले दुई दर कायम गरेर पूँजीगत लाभकर उठाउँदै आएको छ । १ वर्ष वा सोभन्दा कम अविध शेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले नाफामा साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने १ वर्ष वा सोभन्दा बढी होल्ड गरेर बिक्री भएको शेयरमा आएको नाफामा ५ प्रतिशत तिर्नुपर्छ ।
माघमा उठेको पूँजीगत लाभकरमध्ये १६ करोड ३१ लाख ५७ हजार रुपैयाँ १ वर्षभन्दा बढी अवधिसम्म शेयर होल्ड गरेर बेचेका व्यक्तिगत लगानीकर्ताले तिरेको रकम हो । योे नाफामा ५ प्रतिशत लागेको कर रकम हो ।
त्यस्तै छोटो अवधि अर्थात् १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री भएको शेयरबाट भएको नाफामा ५२ करोड ४४ लाख ७२ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । योे नाफाबाट साढे ७ प्रतिशत तिरिएको कर रकम हो । बाँकी ४ करोड ६५ लाख ४१ हजार रुपैयाँ भने संस्थागत लगानीकर्ताबाट संकलन भएको पूँजीगत लाभकर हो ।