काठमाडौं, ०६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १३ मा दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई तत्काल हटाउनुपर्ने माग गरेका हुन् ।
बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो । आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनीहरूलाई तत्काल पदबाट हटाउन एमालेले माग गरेको हो ।
आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस समेत गरेको थियो । मन्त्री ज्वालाकै निर्देशनमा गाडी विपरीत दिशामा प्रवेश गर्दा उक्त घटना भएको आयोगले ठहर गरेको थियो ।