काठमाडौं, ०६ फागुन । आगामि फागुन ११ बाट प्रदर्शनमा आउन लागेको जंगल वारमा आधारित पहिलो नेपाली फिल्म ‘गोर्खा वारियर’को धरानमा प्रिमियर गरिएको छ । प्रायः फिल्मको काठमाडौं केन्द्रित प्रिमियर हुने गरेको भए पनि निर्देशक मिलन चाम्सले फिल्मको कथावस्तुअनुसार नेपालमा पहिलो प्रिमियर धरानमा गरेका हुन् ।
शनिबार सहर परिक्रमासहित फ्रेन्ड्स सिनेमाजमा आयोजना गरिएको प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहित फिल्मका निर्देशक मिलन चाम्स, कलाकारहरु विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रेअर राई, त्रिचु राई लगायत सहभागी भएका थिए ।
प्रिमियरपछि मुख्यमन्त्री कार्कीले फिल्मले इतिहासलाई जीवित राखेको भन्दै प्रशंसा गरेका थिए । उनले भने, ‘फिल्मले देशको गौरव मात्र देखाएको छैन । इतिहासलाई जीवित राख्न पनि प्रयास गरेको छ । यो फिल्मले हाम्रो इतिहास, हाम्रो गौरव, हाम्रो पुर्खाको वीरता र सौर्यलाई जस्ताको त्यस्तै उतारेर हामी नयाँ पुस्तालाई पुर्खाको वीरगति र वीरताप्रति गौरव गर्ने जिउँदो इतिहास देखाइदिएको छ ।’
यस्तै धरानका मेयर साम्पाङले फिल्म हेरिरहँदा आफू धेरैपटक रोएको बताएका थिए । ‘फिल्म हेरिरहँदा म धेरैजसो समय रोइरहेको थिएँ । फिल्मको कथामा मैले आफैंलाई महसुस गरेँ । युद्धको बेलाको दुःख, आमाले छोरा पर्खिनु पर्दाको पीडाले मलाई छोयो,’ उनले भने, ‘म आफैं लाहुरेको परिवारमा जन्मिएकाले फिल्मको पात्रहरुमा मैले मेरै बाउ–बाजेको अनुहार देखेँ । यो फिल्म इतिहास हो ।’
यसअघि गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा फिल्मको प्रिमियर गरिएको थियो । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर फिल्म बनेको हो ।