काठमाडौँ, ०६ फागुन । चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’ नारासहित उक्त सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तिय पहुँचमा पुग्न सफल भएको बताएका छन् । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए ।
महतले प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे ।
यस्तै उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न समेत आम ऋणीलाई आग्रह आग्रह गरेका छन् । उनले भने, ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आसा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ’ डा महतले भन्नुभयो । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । समावेशी विकासको लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाई थियो ।
निस्क्रिय कर्जा बढेर ६ प्रतिशत भन्दा माथि जाँदा जोखिम देखिएको भन्दै अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्न सुझाव दिए ।
यस्तै कार्यक्रममा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकोले बाटो बिराएकाहरु सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए । नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाई थियो ।
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवाला लगायत ८ सय जनाभन्दा धेरै सहभागि छन् ।