काठमाडौं, ०६ फागुन । हाल चर्चामा रहेको ओपनएआई कम्पनीको बजार मुल्य ८० अर्ब अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँ यो रकम १०६ खर्ब हुन्छ, जुन नेपालको कुल ग्राहस्थ्र्य उत्पादन (जीडीपी)भन्दा झण्डै दोब्बर हो ।
न्युयोर्क टाइम्सले शुक्रबार सार्वजनिक गरेको रिपोर्टकाअनुसार कम्पनीले आफूसँग रहेका सेयरहरु टेन्डरमार्फत लगानीकर्ता फर्म थ्राईभ क्यापिटलले नेतृत्व गरेको समूहलाई बेच्न लागेको हो ।
उक्त कारोबारमार्फत ओपनएआईमा रहेका कर्मचारीहरुले आफ्नो स्वामित्वको सेयरलाई बेच्न सक्ने गरि कारोबार हुन लागेको न्युयोर्क टाइम्सले जनाएको छ ।
ओपन एआईले गत वर्ष २९ अर्ब अमेरिकी डलर (३८ खर्ब ५१ अर्ब नेपाली रुपैयाँ) बजार मूल्य कायम हुने गरि सेयर कारोबारको तयारी भएको न्युयोर्क टायम्सले जनाएको छ ।
सन् २०२२ को अन्त्यतिर सार्वजनिक भएको ओपनएआईको उत्पादन च्याटजीपीटीसँगै एआईको विषयमा चर्चा निरन्तर चुलिरहेको छ । त्यसपछि कम्पनीले निर्देशनमार्फत तस्बिर निर्माण गर्ने डाल–ई सार्वजनिक गरेको छ भने हालसालै निर्देशनमार्फत भिडियो निर्माण गर्ने सोराको पनि घोषणा गरेको छ ।