काठमाडौँ, ०७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपिल गरेका छन् । सोमबार प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका हुन् ।
यस्तै उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरका थिए । आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङघर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको उनले बताए ।
उनले भने, ‘यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु । यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।’
यस्तै उनले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताएका छन् । नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”