सुनिता सुबेदी
काठमाडौं, ०७ फागुन । पछिल्लो समय नेपालमा उद्योगहरुका लागि आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा २ सय ४१ उद्योगका लागि २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ, जुन गत आवको माघसम्म्को तुलनामा २१ दशमलव ७४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १ सय ४४ उद्योगका लागि १८ अर्ब ६३ करोड १० लाख २३ हजार लगानी प्रतिवद्धता आएको थियो ।
यस्तै चालू आवको माघ महिनामा मात्रै १५ उद्योगका लागि ३४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
सात महिनासम्ममा लगानी प्रतिबद्धता पाएका २ सय ४१ उद्योगबाट १२ हजार ६ सय ९२ जनाले रोजगारी पाउने छन् । सोही अवधिमा सबै भन्दा धेरै २ सय २६ वटा साना उद्योगले लगानी प्रतिबद्धता पाएका छन् । यस्तै मध्यम (मझौला¬) प्रकारका १२ वटा उद्योग र ३ वटा ठुला उद्योगले लगानी प्रतिबद्धता पाएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
विभागको तथ्याङ्क अनुसार सुरु देखि माघ मसान्तसम्ममा ६ हजार ९८ उद्योगका लागि कुल ४ खर्व ७२ अर्व ५८ करोड ९९ लाख ३८ हजार ३ सय ५ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । ६ हजार ८५ उद्योगबाट ३ लाख २१ ह्जार २ सय ६४ जनाले रोजगारी पाउने अनुमान छ ।