काठमाडौं, ०७ फागुन । नेपाली भाषाको पहिलो एनिमेटेड फिचर फिल्म ‘सलिनाः पार्ट वान’को टिजर सार्वजनिक भएको छ । आइतबार निर्माताले युटयुबमा सार्वजनिक गरेको दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ ।
उक्त टिजरले सलिना नाम गरेकी योद्धा राजकुमारीले राक्षसकी रानीको आतंकलाई रोक्न लड्ने लडाइँको कथालाई फिल्मले प्रस्ट पार्छ । टिजरमा चारैतिर राक्षसकी रानीको आतंक फैलिएपछि सलिना पात्रको डायलग छ– म तयार छु ।’
कथासँग एनिमेसन र भीएफएक्सको प्रयास प्रशंसनीय छ । यस्तै टिजरमा ‘भ्वाइस अफ नेपाल’का होस्ट सुशील नेपालको पनि आवाज समावेश छ । टिजरको बीचमा ‘नमस्ते म तपाईंको आफ्नै सुशील नेपाल’ भन्ने डायलग सुनिन्छ । टिजरमा सुशिलको अनुहार नै देख्न सकिन्छ ।
तेजशराज जोशीले निर्देशन गरेको फिल्मलाई रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको हो । यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ । यसमा पार्श्वध्वनि बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग नगरिएको जनाइएको छ ।