काठमाडौं, ०८ फागुन । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको एकैसाथ तिन वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यममार्फत ३३, ३४ र ३५औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा प्रबन्ध सञ्चालक श्रेष्ठले आव २०७७÷७८, २०७८÷७९ र २०७९÷८० मा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकामा हाल भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीबाट समेत बल्क बिटुमिन ल्याउन लागिएको बताए ।
यस्तै निजीकरण गरिएका उद्योगमध्ये कम्पनीलाई नमुना उद्योगका रुपमा विकसित गर्दै लैजान सञ्चालक समिति प्रतिबद्धता रहेको उनले बताए । नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने योजनासहित कम्पनी अगाडि बढेको उनको भनाई थियो ।
साधारणसभाले ३५ प्रतिशत सेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारका तर्फबाट अशोककुमार श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै, स्वतन्त्र विशेषज्ञ सञ्चालकमा विकास आचार्य चयन भएका छन् ।