काठमाडौं, ०८ फागुन । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ ।
भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो ।
‘सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकाले सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ ।
३ फागुनको मन्त्री स्तरीय निर्णयबाट सहकारीलाई समस्याग्रस्त घोषणा भएको बताइएको छ । २९ माघमा विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।