काठमाडौं, ०९ फागुन । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ ।
विराटनगर महानगरपालिका–१६ स्थित लामो समयदेखि बन्द रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो ।
आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए ।
बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ । घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।
बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो । जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ जलेको प्रहरीले बताएको छ । मिलका दुई वटा पुराना मेसिनमा क्षति पुगेको छ ।
विक्रम संवत् १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल नेपालको पहिलो उद्योग हो । विराटनगर जुट मिल्स २०७८ साल माघदेखि बन्द छ ।