काठमाडौ, ०९ फागुन । दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको छ ।
कृषकले बिक्री गरेको दुधको पैसा समयमा नै नदिएको भन्दै आन्दोलन भइरहेको समयमा डीडीसीले स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको हो ।
देशको आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको क्रयशक्तिमा देखिएको कमीका कारण बजार खपतमा गिरावट आउँदा दैनिक रुपमा संकलन हुने कच्चा दुधलाई कन्भर्सन गरी मौज्दात राख्नु परिरहेकाले एक अर्ब रुपैयाँभन्दा बढी पुँजी ब्लक भएको डीडीसीले बताएको छ ।
दुध संकलन कार्यलाई नियमित राखेको भए पनि देश सञ्चालित धुलो दुध कारखानाहरु पूर्णरुपमा सञ्चालन नभएको, ठूलो मात्रामा धुलो दुध तथा मखनको मौज्दात रहन जाँदा असन्तुलन भइ अवस्था असहज भएको डीडीसीको भनाई छ ।
यस्तै कृषकको बक्यौता रकम भुक्तानी सहजीरकण गर्न संस्थानमा रहेको धुलो दुध र मखनको मौज्दात आधारमा सहुलियत ऋणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा अनुरोध भै प्रकृया अगाडि बढेको डीडीसीले बताएको छ ।