काठमाडौं, ११ फागुन । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
शुक्रबार श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने बताए ।
यस्तै उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा मधेस प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादवले आप्रवासी कामदार समस्यामा पर्दा सरकारको तर्फबाट यथोचित सहयोग नहुनु दुःखद् भएको बताएका थिए ।
गोष्ठीमा प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य, श्रम तथा यातायात मन्त्रालयका पदाधिकारी एवं श्रमसँग सम्बन्धित प्रदेश सरकारका प्रतिनिधि, सामी एवं रेग्मी परियोजनाका पदाधिकारीलगायतका सरोकारवालाको सहभागिता थियो ।