काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ७३ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन जोड्यो।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल सर्वाधिक ६६ रन बनाए । आसिफ शेख १७, रोहित पौडेल १६, अनिल शाह ७ र कुशल मल्ल २ रनमा आउट भए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके भने भीम सार्कीले खाता खोल्न सकेनन् । गुल्सन झाले ५ रन बनाए । आरिफ शेखले २२ र करण केसीले २६ रन जोडे ।
कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए ।
विश्वकप लिग–२ को आफ्नो पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो । जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो ।