काठमाडौं, १३ फागुन । निर्वाचन आयोगले आगामि वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
आयोगले वैशाख १५ देखि २० गतेभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारीे गरेको छ ।
इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको दुर्घटनामा निधन भएको थियो । स्थानीय तहतर्फ दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष लक्ष्मण गुरूङको ०७९ साल माघ २७ गते निधन अध्यक्ष पद रिक्त छ ।
यस्तै गत कात्तिक १७ गते जाजरकोटको बारेकोटस्थित रामिडाँडा केन्द्र गरी गएको भूकम्पमा नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएपछि नगरपालिकाको उपप्रमुख पद रिक्त छ ।
गत असार ३१ गते दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयघातका कारण निधन भएपश्चात उपाध्यक्ष पद रिक्त छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका पनि उपाध्यक्ष पद रिक्त छ । गत माघ ४ गते उपाध्यक्ष मैना जोशीको ५० वर्षको उमेरमा निधन भएको थियो ।
अन्य कीर्तिपुर नगरपालिका–४, काठमाडौं महानगरपालिका–१६, रौटहटको ईशनाथ नगरपालिका–७, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगर–१२, उदयपुरको त्रियुगा नगरपालिका–१२, गोरखा नगरपालिका–५, बर्दियाको ठाकुरबाबा नगरपालिका–४ र कालिकोटको तिलागुफा नगरपालिका–४ मा वडाध्यक्ष पद रिक्त छ ।
गाउँपालिकातर्फ सुनसरीको गढी गाउँपालिका–६, जाजरकोटको कुशे गाउँपालिका–७ र दार्चुलाको दुहुँ गाउँपालिका–५, बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा वडाध्यक्ष खाली रहेकाले उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।