सुनिता सुबेदी
काठमाडौं, १३ फागुन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो व्यवसाय बढाउन अब्बल देखिएको छ । एक वर्षको अवधिमा प्रभु महालक्ष्मी लाइफको व्यवसायमा सबैभन्दा धेरै वृद्धि भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्कअनुसार चालू आर्थिक गर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा १४ बीमक कम्पनीमध्ये प्रभु महालक्ष्मी लाइफले जीवन बीमाको व्यवसाय २ अर्ब ३८ करोड ५२ लाख रुपैयाँको गरेको छ, जुन गत आवको माघसम्मको तुलनामा कम्पनीका व्यवसाय १२ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा कम्पनीको व्यवसाय २ अर्ब १२ करोड ८ लाख रुपैयाँ थियो ।
यस्तै दोस्रोमा नेश्नल लाइफको व्यवसाय एक वर्षको अवधिमा १२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सात महिनासम्ममा ८ अर्ब ९८ करोड ३१ लख रुपैयाँको व्यवसाय गरेको कम्पनीले चालू आवको सोही अवधिमा १० अर्ब ५ करोड २७ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ ।
एक वर्षको अवधिमा एशियन लाइफको व्यवसाय पनि ८ प्रतिशतले बढेको छ । कम्पनीले चालू आवको सात महिनासम्ममा ४ अर्ब ४३ करोड ५९ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको व्यवसाय ४ अर्ब १० करोड ८४ लाख मात्र थियो ।
माघसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाको व्यवसाय २३ अर्ब २० करोड ७४ लाख रुपैयाँको गरेको छ, जुन गत आवको सात महिनासम्मको तुलनामा कम्पनीको व्यवसाय ६ दशमलव ७४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
यस्तै सिटिजन लाइफले ३ अर्ब २६ करोड ६२ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढी होे । गत आवको सात महिनासम्ममा कम्पनीको व्यवसाय ३ अर्ब १४ करोड थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमाको व्यवसाय ३ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको गरेको छ, जुन गत आवको माघसम्मको तुलनामा ५६ दशमलव ११ प्रतिशतले बढेको हो । कम्पनीले गत आवको सोही अवधिमा ३ अर्ब २६ करोड ५१ लाख रुपैयाँको व्यवसाय गरेको थियो ।
यस्तै एक वर्षको अवधिमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेडको व्यवसाय २३ दशमलव १५ प्रतिशतले घटेको छ । गत आवको सात महिनासम्ममा ६ अर्ब ४८ करोड २८ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको कम्पनीले चालू आवको सोही अवधिमा ४ अर्ब ९८ करोड १९ लाख रुपैयाँ मात्र छ ।
सात महिनासम्ममा मेट लाइफले ३ अर्ब १४ करोड २५ लाख रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा कम्पनीको व्यवसाय ४ दशमलव ५५ प्रतिशतले घटेको छ । गत आवका माघसम्ममा कम्पनीले ३ अर्ब २९ करोड रुपैयाँको व्यवसाय गरेको थियो ।
यस्तै लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लि. को व्यवसाय चालू आर्थिक वर्षमा १० अर्ब १४ करोड रुपैयाँ छ, जुन गत आवको माघसम्मको तुलनामा कम्पनीको व्यवसाय शून्य दशमलव ७७ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब २२ करोड रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको थियो ।