काठमाडौं, १५ फागुन । गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव रुद्र प्रसाद पण्डितलाई दिइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पण्डितलाई प्रशासन महाशाखाको जिम्मा दिएका हुन् ।
तत्कालीन महाशाखा प्रमुख केदारनाथ शर्मा कायम मुकायम प्रदेश प्रमुख सचिवमा खटाइएसँगै लामो समय रिक्त हुन पुगेको महाशाखामा पण्डितलाई ल्याइएको हो । ललितपुर प्रमुख जिल्ला अधिकारी रहेका पण्डित बालकुमारी घटनापछि मन्त्रालय झिकाइएको थियो ।
प्रहरी समायोजनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा सहजीकरण समिति बनाएपछि प्रशासन महाशाखा सह–सचिवविहीन थियो ।
समायोजन समितिको सह–संयोजकमा नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सह–संयोजक, प्रहरी प्रधान कार्यालयका डीआईजी, गृहका उपसचिव र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासनका शाखा उपसचिव सदस्य रहने भनिएको छ ।