काठमाडौँ, १६ फागुन । नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि अर्थ मन्त्रालयले सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ ।
बोर्डमा लामो समयदेखि रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न धितो पत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा (५) मा रहेको व्यवस्था बमोजिम कार्यविधि निर्धारण गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
बोर्डको अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी आवेदन माग गरिने कार्यविधिमा उल्लेख छ । बोर्डको अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितो पत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेका योग्य प्रतिष्ठित व्यक्ति हुनुपर्ने योग्यता कायम गरिएको छ ।
आवेदक नेपालको नागरिक र उच्च नैतिक चरित्र भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यस्तै व्यावसायिक कार्य योजनाको अंक भार ४०, शैक्षिक योग्यताको १२, व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणको १८ र अन्तर्वार्ताको ३० गरी १०० पूर्णाङ्कमा मूल्याङ्कन हुने मन्त्रालयले जारी गरेको सिफारिस सम्बन्धी कार्यविधि, २०८० मा उल्लेख गरिएको छ ।