काठमाडौं, १८ फागुन । उत्तरी गाजामा राहत सामग्रीको पर्खाइमा रहेका सयभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले राहत कुरिरहेका नागरिक मारिएको उल्लेख गरेको छ ।
प्यालेस्टिनी मिडियालाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले इजरायली सेनाले भीडमाथि गोली चलाउँदा २५० भन्दा बढी प्यालेस्टाइनी घाइते पनि भएको बताएको छ ।
मृतक र घाइतेहरूलाई अल–शिफा अस्पतालमा लगिएको छ । यद्पि सो अस्पतालमा चिकित्सा उपकरण र चिकित्सकको अभाव रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले गाजा शहरको पश्चिममा अल–राशिद स्ट्रिटमा नागरिकहरूको भेलालाई आक्रमणको निशाना बनाएको थियो ।
बीबीसीका अनुसार इजरायली सेनाको एक स्रोतले सैनिकहरूले आफ्नो ज्यान खतरामा परेको महसुस गरेकाले गोली चलाएको बताएको छ । इजरायली सेनाले जारी गरेको आधिकारिक सन्देशमा ट्रकले किचेर दर्जनौं मानिसको ज्यान गएको बताइएको छ ।
यस्तै बीबीसीले गाजामा रहेका एक पत्रकारको हवाला दिंदै मानिसहरू सहायता सामग्री संकलन गर्न आएका बेला इजरायली ट्याङ्कहरूले उनीहरूमाथि गोली चलाएको बताएको छ । सामाजिक सञ्जालमा शेयर गरिएको एक भिडियोमा मृतकको शव राहत सामग्री बोकेका खाली ट्रक र गाडामा राखिएको देखाइएको छ ।