काठमाडौं, १८ फागुन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर अह्वान गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको रंगशाला महानगरलाई हस्तान्तरण गरिएको रंगशालाको बाँकी कामका लागि महानगरले टेन्डर खुला गरेको हो।
महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब २७ करोड ४८ लाख ८५ हजार लागतमा बोलपत्र आह्वान गरिएको छ ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रंगशाला करिब ३ वर्षदेखि अलपत्र छ । रंगशालामा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुईवटा टावर निर्माण गरिनेछ । बागमती प्रदेश सरकारको ७० प्रतिशत लागत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लागतमा रंगशाला निर्माण गर्न लागिएको हो । महानगरपालिकाले गर्ने साझेदारीमा संघीय सरकारले समेत सहयोग गर्ने बताएको छ । रंगशाला निर्माणका लागि छनोट भएको कम्पनीले २ वर्ष ६ महिनाभित्र रंगशाला बनाइसक्नुपर्ने महानगरले जनाएको छ ।