काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले सहिदहरु थप्न लागेको जनाकारी दिएका छन् । सोमबार शहीद सप्ताहको कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले सहिदको संख्या थप्न लागेको जानकारी दिएका हुन् ।
उनले भने, ‘जनयुद्ध दिवस मनाउने निर्णयलाई धन्यवाद भन्न किन नसक्ने । अझै पनि हामी छुटेका कतिपयलाई सहिद घोषणा गर्ने तयारीमा छौं ।’ सरकारले आयोग गठन गरेर सहिद घोषणा गर्ने प्रयास गरेपनि अर्थमन्त्री डा. प्रकाश सरण महतको अवरोधले सहिद थप्ने प्रक्रिया रोकिएको उनले बताए ।
गृह मन्त्रालयले २०५१ सालदेखि २०६३ सालसम्मका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको विषयमा छानबिन गरी क्षतिपूर्ति दिन आयोग गठनका लागि सहमति माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो ।
असीमित आर्थिक दायित्व सिर्जना गर्ने गरी आयोग गठन गर्न सहमति दिँदा वित्तीय व्यवस्थापन चुनौतीपूर्ण हुने र बजेट तथा कार्यक्रममा नभएको विषयमा सहमति दिने प्रस्ताव अघि बढाउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने भन्दै अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले गृह मन्त्रालयको प्रस्ताव अगाडि बढाउन चाहेको थिएन् ।
अर्थमन्त्री महतले रोक्दै आएको सहिद घोषणाको विषय गठबन्धन परिवर्तन भएसँगै प्रधानमन्त्रीले फेरि उठाएका हुन् ।