काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । महानगरले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा नगर्ने भएको हो ।
वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो । अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।
महानगरले यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर संकलनमा रोक लगाइसकेको छ ।