काठमाडौं, २२ फागुन । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङको आवतजावतमा गर्न जोखिम बढेको छ ।
हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको थियो । हिमपहिराले माथिल्लो मनाङ आवतजावतमा समस्या भएको उनले बताए ।
उने भने, ‘मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिकरूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा समस्या भएको छ ।’
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार मनाङमा दैनिकरूपमा ५० देखि ६० पर्यटक भित्रिन भित्रिने गर्दछन् । उनले भने, ‘दैनिक पर्यटक आगमन बढ्न थालेको छ । भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ । बाटो नै नछेकिए पनि जोखिम भने छ । सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ ।’
यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताए । हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन उनको अनुरोध छ ।
पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा अन्नपूर्ण पदमार्गमार्फत पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ ।