काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको प्रधानमन्त्रीको अफर नेकपा एमालेले अस्वीकार गरेको छ । कांग्रेसले विदेशीको इशारामा बन्दै गरेको बाम समीकरण भत्काउने प्रयास गरेको भन्दै एमालेले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको हो ।
मंगलबार राति कांगे्रेस सभापति देउवाले नयाँ गठबन्धन भत्काउने उद्देश्यले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको अफर गरेका थिए । राष्ट्रियसभा अध्यक्षमा समेत एमाले उम्मेद्वारलाई समर्थन गर्ने देउवाको प्रस्ताव थियो ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले सत्ताबाट बिमुख हुनुपर्दाको पीडा कम गर्न कांग्रेसले असफल खेल खेलेको निश्कर्ष निकाल्दै अहिलेको गठबन्धनलाई नै बलियो बनाएर अगाडि बढ्ने निश्कर्ष निकालेको बताए ।
कांग्रेसबाट प्रधानमन्त्री लिएर नयाँ गठबन्धन बनाउन औपचारिक प्रस्ताव आएको दाबी गर्दै ज्ञवालीले आफूहरुले अहिले बनेको नयाँ समीकरण भत्काउनतिर नलाग्ने प्रष्ट जवाफ दिएको बताए ।