सुनिता सुबेदी
काठमाडौं, २४ फागुन । पछिल्लो एक वर्षको अवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव १४ प्रतिशत रहेको छ, जुन गत आवको माघसम्मको तुलनामा १ दशमलव ५६ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा ४४ दशमलव ७० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो ।
एक वर्ष अवधिमा जीवन बीमाको कार्यालय सङ्ख्या समेत घटेको छ । प्राधिकरणका अनुसार चालू आवको माघसम्ममा १ हजार ८ सय ४८ वटा जीवन बीमाको कार्यलय छन् । यो सङ्ख्या गत आवको सोही अवधिको तुलनामा १६ दशमलव २८ प्रतिशतले घटेको हो । गत आवको माघसम्ममा २१ सय ९९ जीवन बीमाको कार्यालय थिए । यस्तै निर्जीवन बीमाको कार्यालय सङ्ख्या भने एक वर्षको अवधिमा ६ दशमलव ३६ प्रतिशतले बढेको छ । गत आवको माघसम्मम ९ सय ९० मात्र रहेको निर्जीवन बीमाको कार्यालय सङ्ख्या बढेर चालू आवको माघसम्ममा एक हजार ५३ पुगेको छ । सोही अवधिसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी कुल २ हजार ८ सय ९४ कार्यालय छन् । यी कार्यालयमा ११ हजार ४ सय ७२ कर्मचारी आबद्ध छन् ।
प्राधिकरणका अनुसार चालू आवको माघसम्ममा बीमाको कुल व्यवसाय १ खर्ब ९ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको भएको छ । जसमध्ये जीवन बीमाबाट ८६ अर्ब ९२ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ भने २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँ निर्जीवन बीमाबाट शुल्क संकलन भएको छ ।
सात महिनासम्ममा जीवन बीमालेखको सङ्ख्या १ करोड ३७ लाख ९४ हजार १ सय ३७ रहेको छ । सोही अवधिसम्ममा निर्जीवन बीमालेखको सङ्ख्या १७ लाख २ हजार ९ सय ८७ रहेको छ ।
चालू आवको माघसम्ममा ३ करोड ६ लाख २ हजार ४ सय ४८ जनाले बीमा गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।