काठमाडौं, २५फागुन । आज महाशिवरात्री पर्व भगवान शिवको पुजाआरधना गरी मनाइँदैछ । आज देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । पवित्र पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड छ । आज महाशिवरात्री भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो ।
महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको प्यारो दिनका रूपमा आजलाई लिइन्छ ।