काठमाडौं, २७ फागुन । पछिल्लो एक वर्षको अवधिमा रेमिट्यान्स आप्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१को सात महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएको थियो ।
यस्तै माघसम्ममा अमेरिकी डलरमा रेमिट्यान्स १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ ।
माघसम्ममा वैदेशिक रोजगारीका लागि २ लाख ४७ हजार १२ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । सोही अवधिमा १ लाख ५८ हजार ५ सय ४० जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
सात महिनासम्ममा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई ९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।