काठमाडौं, २७ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई अपिल गरेका छन् । आइतबार बधाई तथा कार्यकाल सफलताको शुभकामना दिन मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँगको भेटमा पुनले बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै पुनले त्यसका लागि आवश्यक कानूनी तथा व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल भर्जिन ल्याण्ड हो । तपाईमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।’
यस्तै उनले लगानी सम्मेलन पूर्वनिर्धारित मितिमै हुने बताउँदै सरकार त्यसको तयारीमा जुटेको बताए । राजदूत थम्पसनले अमेरिकी लगानीकर्ता नेपालमा आउन आकर्षित रहेको भन्दै त्यसका लागि वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।