काठमाडौं, २७ फागुन । पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी निर्वाचित भएका छन् । उनले आज साँझ दोस्रो कार्यकालको शपथ ग्रहण समेत लिने छन् । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले आसिफलाई शपथ खुवाउने छन् ।
६८ वर्षीय जरदारी पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष हुन् । उनी यसअघि सन् २००८ देखि सन् २०१३ सम्म राष्ट्रपति बनेका थिए ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनमा ४ सय ११ भोट पाएर जरदारी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी महमुद खान अचकजईले १ सय ८१ भोट पाएका थिए । शनिबारको राष्ट्रपति निर्वाचनमा विधानसभा र सिनेटका १ हजार ४४ सदस्यले भोट हालेका थिए ।