सुनिता सुबेदी
काठमाडौं, २७ फागुन । पछिल्लो एक वर्षको अवधिमा उपभोक्ता मुद्रास्फीति घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को माघ महिनामा उपभोक्ता मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको छ, जुन गत आवको माघ महिनाको तुलनामा २ दशमलव ८७ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत थियो ।
सात महिनामा सबैभन्दा कम मुद्रास्फीति गैर खाद्य तथा सेवा समूहमा छ । राष्ट्र बैंकका अनुसार गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत छ, जुन गत आवको माघकोे तुलनामा ५ दशमलव ३७ प्रतिशत विन्दुले घटेको हो । गत आवको सोही अवधिमा मुद्रास्फीति ९ दशमलव २२ प्रतिशत थियो ।
यस्तै गत आवको माघ महिनाको तुलनामा चालू आवको माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति शुन्य दशमलव ३२ प्रतिशत विन्दुले बढेको छ । चालु आवको माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव १९ प्रतिशत मात्र थियो ।
माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशतले घटेको छ । यस्तै दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमव ०६ प्रतिशत र तरकारीको ७ दशमmव ५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ३३ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको माघमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशतले बढेको छ । यस्तै विविध वस्तु तथा सेवाहरुको ९ दशमलव १५ प्रतिशत, शिक्षाको ७ दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङक १ दशमलव ४१ प्रतिशतले घटेको छ ।
माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।